Book Review, Literature

सम्बन्धहरूको चिरफार ‘मोचन’:किन पढ्ने ? 

मानवीय सम्बन्ध र खासगरी पति र पत्नीबीचको वैवाहिक सम्बन्धमा आएको दरारबाट जन्मिएको हो मोचन। जीवनको खुसी र मुक्ति खोज्ने क्रममा आत्महत्याभन्दा आध्यात्मिकताको बाटो रोजेपछि जन्मिएको हो मोचन। विभिन्न परिवेशमा बाँचेका जोडीहरूलाई बुझ्न र बुझाउन जन्मिएको हो मोचन। यो प्रेम, प्रणय र रागको मात्र कथा होइन, त्योदेखिबाहेक अरू धेरै कुरा हो भन्न जन्मिएको हो मोचन। मोचन गर्भ बस्नुअघि केही महत्त्वपूर्ण विषयसँग भएको थियो सहवास। त्यही सहवासबाट जन्मिएको हो मोचन जसले मानवीय सम्बन्धका धेरै पाटामध्ये एकलाई उजागर गरोस् भन्ने चाहनाबाट जन्मिएको थियो।

मानवीय सम्बन्धका बारेमा केही लेख तथा रचना नलेखेको भने होइन तर विपरीत लिंगीय प्रेम तथा प्रणय सम्बन्धका बारेमा भने बिरलै कलम चलाउने गर्थें। न त त्यो विषयमा कलम चलाउनेबारे कुनै सोचाइ नै बनाएको थिए। पढ्न त थुप्रै नेपाली तथा विदेशी साहित्य पढें। खासगरी आख्यानमा जसले प्रेम, प्रणय र पतिपत्नी, प्रेमीप्रेमिकाको प्रेम तथा सम्बन्धलाई उजागर गरोस् जस्तो बीपी कोइरालाको ‘सुम्निमा’, पारिजातको ‘शिरीषको फूल’, भ्लादिमिर नाभाकोभको ‘लोलिता’, डीएच लरेन्सको ‘लेडी च्याटरलिज लभर’ आदि इत्यादि।

हुन त प्रेम, प्रणय र सम्बन्धका विविध आयाम हुन्छन्। अरूले कलम चलाएका विषयमा कलम चलाइराख्नु भनेको सस्तो साहित्य उत्पादन गर्नु हो भन्ने सोचिनँ। यस्तो हल्लामा केही लेख्दै नलेख्नुले झन् सम्बन्धको अर्को पाटो छुट्न सक्छ भन्ने पनि लाग्यो। बजारमा बिक्ने भनेकै प्रेम, रोमान्स र दुःखका सामग्री भएकाले त्यसैमा लेखेछ भन्ने आरोपसँग पनि डराउनु हुँदैन भन्ने लाग्यो। तिनै विषयमा पनि फरक कोण र दृष्टिकोणबाट आख्यानहरू लेख्न सकिन्छ। पाठकलाई सूचित गर्न सकिन्छ। मानवीय सम्बन्धका फरक पाटाहरू केलाउन सकिन्छ। समाजलाई योगदान दिन सकिन्छ। नवीनतम साहित्य जन्माउन सकिन्छ।

तर मेरो रोजाइ, लेखन अभ्यास तथा अनुसन्धानको पाटो भने सीमान्तकृत वर्ग, महिला र पिछडिएका आवाजविहीनहरूको आवाज थियो। र तिनीहरू नै मेरो आख्यानका पात्रहरू हुन सक्थे। नेपाल जस्तो पितृसत्तात्मक समाजमा महिला कसरी दबिएर बसेका छन्, त्यहाँ कस्तो विभेद छ भन्ने विषयवस्तुमा अध्ययन, अनुसन्धान गर्न बानी परेकाले मेरो आख्यानको विषय पनि त्यही नै हुनुपर्ने हो। तर ठीकविपरीत हाम्रो समाजमा पुरुषहरू पनि कसरी र कस्तो अवस्थामा पीडित हुन सक्छन् भन्ने विषयलाई, पुरुष मनोविज्ञानलाई उठान गर्नुपर्ने आवश्यकताको महसुस हुन पुग्यो। त्यो महसुस देखे, भोगे, सुने र अनुभव गरेको समाज, परिवेश र पात्रहरूको कारण थियो।

नेपाली समाजमा हुर्केर पितृसत्ताको संस्कारमा अभ्यस्त भए पनि उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेपछि नेपाली समाजका नारी र पुरुषपात्र, उनीहरूका जीवन, समाज र सम्बन्ध बुझाइ अनि तिनै पात्रहरू रोेजें। जो अमेरिकी समाजमा भिजिसकेपछि तिनमा आएको परिवर्तन, स्वतन्त्रता र सम्बन्धको बुझाइ र त्यसले ल्याएका परिणतिहरूलाई नजिकबाट नियाल्ने अवसर पाएँ। आफ्ना कमजोरी पनि थाहा पाएँ। यस उपन्यास ‘मोचन’का लागि तीनवटा सन्दर्भ छन्। पहिलो आफ्नै वैवाहिक सम्बन्धले सिकाएका कुरा, दोस्रो समाजका लागि बाहिर हाँसेर र भित्र पीडामा रही सम्बन्धलाई टिकाइराख्ने पात्रहरूसँगको भेट र तेस्रो नेपाली पात्रहरूमा परेको अमेरिकी समाज र संस्कृतिको प्रभाव।

यी सबै कुराको समागमपछि बसेको मोचनको गर्भलाई म तुहाउन पनि सक्थें। तर त्यो भ्रूण मभित्र यसरी बस्यो कि लाग्यो यदि त्यो तुहियो भने एउटा सुन्दर बच्चाको हत्या हुनेछ। यो समाजले त्यसलाई हेर्न, सुन्न, देख्न र पढ्न पाउने छैन। न त त्यो आख्यानात्मक बच्चाले यो समाज देख्न पाउनेछ। यद्यपि जन्माउनु अघिसम्म भयानक प्रसव पीडा हुनेछ। ती पात्रहरू यसरी आइरहे, यसरी मलाई हल्लाइरहे र पटक पटक ‘वार्निङ’ दिइरहे कि गर्भ तुहाउने कल्पनै गर्न सकिनँ। त्यसपछि मोचन आख्यानलाई मानसिक गर्भमा हुर्काउन थाले।

जसरी एउटी महिला गर्भवती भएपछि ऊ डाक्टरकोमा जान्छे। हरेक महिना शरीर चेकअप गराउँछे। डाक्टरको सल्लाहबमोजिम विभिन्न भिटामिनका तत्त्वहरू सेवन गर्छे। सुन्न थालें उनीहरूको जीवन भोगाइ, महसुस गर्न थालें आफैंले भोगेको समाज र परिवेशलाई। घण्टौं इन्टरनेटमा बसेर अध्ययन तथा अनुसन्धान गर्न थाले र बुझ्न थाले प्रेम, प्रणय र सम्बन्धका पाटाहरूलाई। ती मेरा लागि ‘फोलिक एसिड’ भए। विभिन्न विश्वविद्यालयले गरेका अनुसन्धान, अमेरिकन रंगीन समाज, काठमाडौंको तपोवन यात्रादेखि महान् विचारकहरूको महान्वाणी, पात्रहरूका भोगाइसम्मका कथा पढें। बल्ल मोचनका औपन्यासिक अंगहरूको निर्माण हुँदै गयो। तर त्यतिबेला जुन गर्भमा थियो, मेरो औपन्यासिक बच्चाको पोजिसन ‘ब्रिच’ अर्थात् उल्टो थियो- टाउको माथि, खुट्टा तल।

फेरि सकस भइरह्यो, जन्माउने कि नजन्माउने भनेर। जन्मिएपछि यसले दिन सक्ने योगदानहरू असरल्ल आइरहे आँखाभरी। लाग्यो मोचनलाई समाउनेहरूले बुझ्नेछन्, पढ्ने छन्, देख्नेछन् र सुन्नेछन् भौतिकवादी दुनियाँदेखि आध्यात्मिक दुनियाँसम्मको कथा। पतिपत्नीबीचको सम्बन्धमा आएको दरारले ल्याएको दुःखान्त र डरलाग्दा परणीतिदेखि प्रेम र प्रणयको रोमान्टिक र जीवनखुसी र स्वतन्त्रताका रहरलाग्दा जीवनमुक्ति। र समग्रमा खुसी के हो ? सम्बन्ध के हो ? पतिपत्नी र उनीहरूबीचको सम्बन्ध के हो ? समाज के हो ? प्रेम विश्वास के हो ? आदि प्रश्नका उत्तरहरू पनि थाहा पाउनेछन् भन्ने लाग्यो। त्यही बीचमा मैले यति धेरै आलंकारिक पानी पिएँ कि खुट्टा तल पारेर गर्भमा बसेको मेरो मोचन बच्चाले अघि कतिखेर टाउको तल पारेर बसिसकेको रहेछ। र, जन्मियो अस्पतालरूपी फिनिक्स बुक्समा मोचन।

साभार: अन्नपूर्ण पोस्ट १३ कार्तिक २०७८

यो पुस्तक नेपालका प्राय सबै प्रमुख पुस्तक पसलहरूमा पाईन्छ। सम्पर्क: फिनिक्स बुक्स, सम्पर्क Address: Mid Baneshwor Puja Pratisthan Marga Opposite to Bigmart: Phone: 01-4487782

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s