Author of "Running from the Dreamland," "Sex, Gender, and Disability in Nepal," and "Mochan."

संवेदनामा देखिएका विचलनहरू 

तुलसी आचार्य आख्यान विधामा देखापरेका क्रियाशील स्रष्टा हुन् । पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका उनको ‘मोचन’ शीर्षकको उपन्यास प्रकाशित छ । यसअघि अंग्रेजी भाषामा उपन्यास लेखिसकेका उनको यो दोस्रो औपन्यासिक कृति हो ।

नेपाल र अमेरिकाको परिवेश अनि पात्रहरूको प्रयोग गरी लेखिएको यस उपन्यासमा मूलतः मानवीय सम्बन्ध र संवेदनालाई सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ ।

यसका साथै विद्यार्थीका रूपमा विकसित मुलुकहरूमा पढ्न जाने र उतै बसोबास गर्ने पछिल्लो पुस्ताका युवायुवतीको जीवनसंघर्ष र तिनका भोगाइलाई प्रस्तुत गरिएको छ ।

आध्यात्मिक क्षेत्रसँग सम्बद्ध मोचन शब्दलाई शीर्षक बनाइएकाले उपन्यास कतै आध्यात्मिक विषयमा केन्द्रित त छैन भन्ने उत्सुकता पाठकमा जगाइदिन्छ शीर्षकले नै । तर, उपन्यास शीर्षकले बताएजस्तो आध्यात्मिक नभएर भौतिकवादी समाज र जीवनमा केन्द्रित छ ।

उपन्यासको अन्त्यतिर अध्यात्मका केही प्रभावहरूलाई देखाउन खोजिए पनि ती मूल विषय नभएर परिधिमा आएको विषयसन्दर्भ हो । मोचन अर्थात् मोक्ष । मोक्ष भनेको मुक्ति, आखिर केबाट मुक्ति ? यही प्रश्नको जवाफ खोज्ने क्रममा नै उपन्यासको पठन अगाडि बढ्छ र कथानकको अन्त्य हुन्छ ।

उपन्यास पढ्दै जाँदा यो प्रेमकथामा आधारित उपन्यासजस्तो पनि देखिन्छ । केही हदसम्म यो सत्य भए पनि उपन्यासमा अन्तर्वस्तुका रूपमा प्रवेश गरेका अन्य विभिन्न पक्षहरू छन्, जसले उपन्यासलाई समसामयिक र गम्भीर बनाएको छ ।

उपन्यासलाई प्रणयप्रेम, मनोविज्ञान, समसामयिक विषय, आजका मान्छेका विरोधाभासी चरित्र, डायस्पोरिक जीवन आदि विभिन्न कोणबाट अध्ययन विश्लेषण गर्न सकिन्छ । यसरी विभिन्न पक्ष र कोणबाट उपन्यासलाई विश्लेषण गर्न सकिए पनि उपन्यासको केन्द्रीय विषय भनेको मानवीय संवेदना र सम्बन्ध नै हुन् ।

नेपाली साहित्यका अधिकांश उपन्यास नारीकेन्द्रित देखिन्छन् । नारीजीवनका जटिलता, नारीका संघर्ष र नारीमनोविज्ञान नेपाली उपन्यासमा प्रशस्त रूपमा आइसकेका छन् ।

आचार्यको मोचन उपन्यासमा भने पुरुषमनोविज्ञान र उसको विरोधाभासपूर्ण जीवनशैलीको चित्रण गरिएको छ । आजका शिक्षित र सभ्य भनिएका मानिस कसरी विरोधाभासमा बाँच्छन् भन्ने यथार्थलाई उपन्यासमा प्रस्तुत गरिएको छ ।

पारिजातको ‘शिरीषको फूल’ उपन्यासका पात्र सुयोगवीर र सकमबरीबाट विशेष रूपमा प्रभावित यस उपन्यासको नायक अमेरिकामा पढ्दै हुन्छ । यसैबीचमा नेपाल फर्किएर बिहे गर्छ र पछि श्रीमतीलाई पनि अमेरिका लैजान्छ ।

स्वभाव र विचारको अन्तरले विस्तारै उनीहरूको सम्बन्ध बिग्रँदै जान्छ । फेसबुकमा परिचय भएको आधारमा अनामिकासँग नजिक भएको नायक अन्ततः आश्मालाई छोडेर अनामिकासँग जीवन बिताउने निर्णयसहित नेपाल फर्किन्छ ।

उपन्यासको मोटामोटी कथानक यत्ति नै हो । तर, यस्ता घटना र परिस्थितिको निर्माण हुँदै गर्दा नायकको जीवनमा आएका उतारचढाव र उसको मानसिकतामा परेका विभिन्न सकारात्मक तथा नकारात्मक प्रभावहरूलाई उपन्यासमा जुन ढंगले प्रस्तुत गरिएको छ, त्यो निकै गम्भीर र आकर्षक छ ।

अमेरिकामा बसेर विद्यावारिधि गर्दै गरेको र परम्परित संस्कार बोकेर हुर्कँदै गरेको निम्नमध्यमवर्गीय युवा यस कृतिको नायक मात्र नभई आजका आम नेपाली युवापुस्ताको प्रतिनिधि पात्र पनि हो ।

यस पात्रका माध्यमबाट आजका युवापुस्ता र उनीहरूको दाम्पत्य सम्बन्धमा देखिने जटिलता र एकार्काप्रति हराउँदै गएको विश्वास र ह्रास हुँदै गएको संवेदनाका विविध यथार्थलाई उपन्यासमा प्रस्तुत गरिएको छ ।

विवाह गरेकी श्रीमतीसँग विचार र स्वभाव नमिल्दा पीडादायी बनेको सम्बन्ध र भर्चुअल संसारमा भेटिएकी प्रेमिकाबाट प्रभावित भएर बनेको सम्बन्ध । यी दुई सम्बन्धको कारण नायकभित्र चलिरहेको मनोद्वन्द्व उपन्यासको अर्को पक्ष हो र यसले पुरुषमनोविज्ञानलाई प्रस्तुत गरेको छ ।

उपन्यासमा कथानकसँगसँगै अन्य सन्दर्भहरू पनि अगाडि बढेका छन् । खासगरी देशको समसामयिक सन्दर्भ, साहित्यिक सन्दर्भ र विरोधाभासपूर्ण जीवन बाँचिरहेका आजका मानिसका सन्दर्भ उपन्यासमा निकै प्रभावकारी रूपमा आएका छन् ।

उपन्यासलाई रोचक, सामयिक र विश्वसनीय बनाउनका लागि उपन्यासकारले विभिन्न उपक्रम गरेका छन् । अमेरिका र नेपालको परिवेशको चित्रण गरिएको यस उपन्यासमा नेपालमा गएको भूकम्प र यसले पारेको प्रभाव, नाकाबन्दी, मधेस आन्दोलन र अन्य राजनीतिक सन्दर्भ र लोडसेडिङले पारेको अस्तव्यस्तताको सन्दर्भलाई समेत कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

यसका साथै विश्वप्रसिद्ध साहित्यकार र दार्शनिकहरूका आप्तवाक्य, गीत, श्लोक र मिथकीय सन्दर्भहरूका साथै विभिन्न विषयका अनुसन्धानका रिपोर्टहरूलाई समेत कथानकमा प्रवेश गराएर उपन्यासलाई रोचक बनाइएको छ ।

वास्तवमा मान्छे विरोधाभासहरूमा बाँच्छ, झन् त्यसमाथि पनि शिक्षित वर्ग । यस उपन्यासको प्रमुख पात्रको जीवनमा देखिएका तमाम विरोधाभासहरू पनि आजका शिक्षित र बौद्धिक भनिएका वर्गमा पाइने विरोधाभासहरू हुन् ।

उदाहरणका लागि, कुनै जानकारी र पूर्वसूचनाबिना नै श्रीमतीलाई छोडेर प्रेमिका भेट्न हिँडेको पात्र एयरपोर्ट पुगेर भन्छ, लाग्यो– आज मैले आफ्नै जीवनको उत्सव मनाइरहेको छु । जेलबाट छुटेको कैदीले जस्तै । मानौँ, एउटा अपराधी आजबाट स्वतन्त्र छ । लाग्यो– यस्तो दिन जिन्दगीमा विरलै आउँछ । यस्तो खुसीको दिन, यस्तो स्वतन्त्रताको दिन । म त हिरासतबाट निक्लिएको स्वतन्त्र कैदी हुँ आजबाट । (पृ. २१)

फेरि उही पात्र त्यही ठाउँमा बसेर सोच्छ, म लाछी भएर उनलाई थाहै नदिई यसरी हिँड्नु थियो भने मैले किन बिहे गरेँ ? किन मैले उनलाई यसरी एक्लै विदेशमा छोडेर भाग्दै छु ? म किन यो गलत काम गरिरहेछु ? (पृ.२२)

यसरी आफूले सही गरिरहेछु वा गलत भन्ने कुरामा नै नायकमा द्विविधा छ । यस्तै–यस्तै अन्योल र जटिलताहरूलाई उपन्यासमा सूक्ष्म रूपमा देखाइएको छ ।

विरोधाभासहरू झल्काउने सन्दर्भहरू उपन्यासको सुरुदेखि अन्त्यसम्म जताततै छन् । जस्तै ः आदर्श नै झुट हो भनेर दाबी गरिरहेको पात्र, आफू आदर्श पात्र हुन नसकेकोमा पछुतो मान्छ । श्रीमतीकै लागि टाढा हुन खोजेको हुँ भन्छ र अपराधबोधले तर्सन्छ । मान्छेको सौन्दर्य बाह्य आवरणमा होइन, अन्तर्यमा हुन्छ भन्दै गर्दा वेटर नितम्ब हेर्न नपाएकोमा खिन्न हुन्छ ।

समाजशास्त्रमा स्नातकोत्तर गरेको युवक महिला खुम्चिएरै बाँचेको मन पराउँछ । प्रेमिकालाई आफ्नो स्वामित्वको ठान्छ र तुरुन्तै महिलावादीहरूसँग डराउँछ । नास्तिक हुँ भन्छ, तर पशुपति र ज्योतिषकोमा जान्छ । परम्परामा विश्वास छैन भन्छ, तर पतिव्रता श्रीमती रुचाउँछ ।

यस्तै–यस्तै विरोधाभासहरूमा यस उपन्यासको नायक बाँचेको छ र यही आजको यथार्थ हो । समाज यस्तै चरित्रहरूले निर्मित भएको छ र यस यथार्थलाई सूक्ष्म रूपमा प्रस्तुत गर्न सक्नु यस उपन्यासको विशेषता हो ।

उपन्यासमा प्रमुख पात्र नायक मानवीय कमजोरीयुक्त पात्र हो । नायकलाई आदर्शीकरण नगरी यथार्थ रूपमा प्रस्तुत गरिनु उपन्यासको राम्रो पक्ष हो । ऊ विभिन्न अन्योल, अस्पष्टता, पश्चात्ताप, अपराधबोध, हीनताबोध र अनिश्चितताको बन्दी बनेको छ ।

तर, उपन्यासका नारी पात्र (उसकी श्रीमती र प्रेमिका) जुनसुकै प्रवृत्तिका भए पनि आफैँमा स्पष्ट छन् । उनीहरू अन्योलमा छैनन् । उनीहरूमा अपराधबोध पनि छैन र उनीहरू निरीह पनि छैनन् । आफैँमा आत्मनिर्भर, स्वाभिमानी उनीहरू नायकको तुलनामा सशक्त देखिन्छन् ।

यसरी परम्परित नायकत्वको मापदण्डलाई भत्काएर यथार्थको चित्रण गरिएको प्रस्तुत उपन्यास पछिल्लो समयको नेपाली समाज र पुस्ताको यथार्थ चित्र हो ।

साभार: समालोचक ज्ञानु अधिकारीले तुलसी आचार्यकृत उपन्यास ‘मोचन’ माथि गर्नुभएको समिक्षा बार्हखरीबाट साभार गरिएको हो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s



%d bloggers like this: