Author of "Running from the Dreamland," "Sex, Gender, and Disability in Nepal," and "Mochan."

अबको बाटो मानवताको राजनीति

राजनीति गर्ने मान्छे जब विवेकहीन र अदूरदर्शी हुन्छ। तब त्यस्ता नेताले चलाएको पार्टी होस् वा सरकार, मानवीयता भुल्दै जान्छ। त्यस्तो सरकारको आयु पनि छोटिँदै जान्छ।

संघीय चुनाव आउनै लाग्दा खासगरी पुराना पार्टी तथा दलका नेता तथा कार्यकर्ताले आफूलाई व्यस्त बनाइरहेका छन्, पार्टी प्रचारमा लागेका छन्। त्यससँग हरेकको आआफ्नो स्वार्थ जोडिएको छ– कसैलाई नेता हुनु छ, कसैलाई कुनै पदमा चाँडै पुग्नु छ। कसैलाई राम्रो ठाउँमा जागिर पाउनु छ भने कसैलाई सरुवा हुनुछ। त्यही भएर पार्टीका कार्यकर्ताहरू फेसबुकमा नेतासँगको तस्बिर पोस्ट्याउने, भ्रष्टाचारले गन्हाएकै नेता भए पनि महान् भनेर लेख्ने, उनकै पगरी गुथ्ने र गुलामी गर्ने गरिरहेका भेटिन्छन्।

नागरिकका समस्याहरूलाई सम्बोधन गर्ने प्रायश्चितभन्दा पनि उनीहरूमा व्यक्तिगत लाभ प्राप्तिप्रतिको मोह अथाह छ। त्यस्तो मोहमा चुर्लुम्म डुबेका कार्यकर्ताहरू न हतपत त्यहाँबाट बाहिर निस्किन सक्छन्, न कसैले उनीहरूलाई वास्तविक राजनीति के हो भनेर बुझाउँदा बुझ्न सक्छन्। प्लेटोको ‘एलेगोरी अफ दि केभ’मा जस्तो अन्धकारभित्र बसेका कैदीजस्ता नेता र कार्यकर्तालाई हामीले दिने ज्ञानको प्रकाशले अझ तिरमिर गराउँछ, भ्रमित बनाउँछ। उनीहरूलाई लाग्छ, उनीहरू नै सही छन्। बुझ्ने अनि जान्नेसुन्ने छन्। उनीहरूको विकल्प अर्को कसैसँग छैन। त्यही भएर उनीहरूलाई न परिवर्तन मन पर्छ न युवा पुस्ताको वर्चस्व नै।

राजनीतिमा नयाँ संकेत

विस्तारै युवा पुस्ता सडकमा उत्रिसकेको छ र मात्र बाँकी छ, त्यो पुस्ता सदनसम्म पुग्न। स्थानीय चुनावले ल्याएको नतिजा र युवा पुस्ताको पदभारसँगै आएका बालेन तथा हर्क साम्पाङहरूले गरेका कामका सकारात्मक परिणामहरूले नेपाली नागरिकमा फेरि आशाको किरण पलाएको छ। पुराना दलका नेताहरूको मनमा भने डरलाग्दो ढ्यांग्रो ठोक्न थालेको छ। यो लर्तरो छलाङ होइन, शदियौंदेखि पार्टी र सत्ता ‘मेरो बाउको पेवा हो’ भनेर राजनीति गर्न पल्केकाहरूको डरलाग्दो गुटको अब फुट हुने गतिलो संकेत हो।

नेताहरूले आफ्नो भिजन, नेतृत्व, कार्यकुशलता, लगाव र मानवीयताप्रतिको समर्पण कहिल्यै देखाउन सकेनन्। हुँदाहुँदा देशलाई भाग बन्डामा बाँडे गणतन्त्रको नाममा।

सत्तामा बसेकाहरूलाई शदियौंदेखि सयौं समस्याबारे सम्झाउँदा र सुनाउँदासमेत समस्या जहाँको त्यहीँ रहिरह्यो। हिजो चुनाव जितेर सत्ता र सदनमा पुगेका सांसद सहजै सडकमा आउन सक्छन् यदि नागरिकले उनीहरूका काम कारबाही मन पराएनन् भने। यदि उनीहरूले गरेको काम समयको मागअनुसार हुन सकेन भने अनि उनीहरूको काम मानवताको पक्षमा हुन सकेन भने। काठमाडौंको मेयरमा बालेन र धरानको मेयरमा हर्कको विजय र वर्तमान कार्यशैली संकेत मात्र हुन्।

मानवताको पक्षमा राजनीति

नेतृत्व वर्गमा मानवीयता जबसम्म पार्टीको प्रमुख एजेन्डा बन्दैन, तबसम्म नागरिकका लागि गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा राजनीतिको लक्ष्य हुँदैन। मानवीयता नागरिकलाई राज गर्ने नीति हुनुपर्छ। त्यो नीतिको आचारसंहिता हुनुपर्छ। ब्रिटिस दार्शनिक डेभिड ह्युमका अनुसार मानवीयता यौटा यस्तो भाव हो, जसको आधारमा नैतिक प्रणालीको स्थापना गर्न सकिन्छ, जसको सम्बन्ध परोपकारिता र सहानुभूतिसँग हुन्छ। मानवीयता राजनीति गर्नु पछाडिको प्रमुख सिद्धान्त हुन सकेन भने नागरिकका खुसी, अधिकार र स्वतन्त्रता सधैं कुण्ठित भइरहन्छन्।

राजनीति गर्ने मान्छे जब विवेकहीन र अदूरदर्शी हुन्छ र अरू माफियाको पछि कुद्न थाल्छ, तब त्यस्ता नेताले चलाएको पार्टी होस् वा सरकार, मानवीयता भुल्दै जान्छ। त्यस्तो सरकारको आयु पनि छोटिँदै जान्छ। यदि सही राजनीतिज्ञ छ भने सत्ताका लागि मरिमेट्दैन। ऊ जहिल्यै मानवताको पक्षमा हुन्छ। कसैको मृत्यु वा दुःखलाई लिएर त्यसैमा राजनीति गर्दैन। बरु त्यसको कारण खोज्छ र समाधानतिर लाग्छ। ऊसँग दूरदर्शिता हुन्छ। त्यसको सम्बन्ध हरेक मानिस, प्राणी, जनावर र वातावरणसँग जोडिएको हुन्छ। 

राजनीतिभित्र माफिया गठन गर्दैन, र ऊ सत्तामा वा बाहिर रहेका बेला पनि हरेक बखत उत्तरदायी भूमिका खेल्छ। एकअर्काको गाली र आक्षेपमा समय खेर फाल्दैन। जब मानवीयता पार्टीको प्रमुख एजेन्डा बन्छ, त्यहाँ पद ठूलो हुँदैन योगदान ठूलो हुन्छ। यदि मानवीयता पार्टीको, दलको, सत्ताको, सरकारको प्रमुख एजेन्डा हुन सकेन भने अहिलेसम्म हामीले देखेको नेपालजस्तै हुन्छ। अर्थात् सडक बालबालिका भेटिरहन्छन्, गर्भवती महिलाले उपचार नपाएर मरिरहनु पर्छ, योगमायाहरू तड्पिरहनु पर्छ, नवराज विकहरूले ज्यानको तिलाञ्जलि दिइराख्नु पर्छ, रोजगारीका लागि युवाले देश बाहिर गएर चर्का घाममा पसिना बगाइराख्नु पर्छ। यतिले मात्र पुग्दैन। सिटामोल नपाएर एउटा गरिब छट्पटाएरै मर्नुपर्छ, सधैं जात, लिंग र वर्णका आधारमा एउटा मान्छे अर्को मान्छेबाट शोषित र अपहेलित भइराख्नुपर्छ। अनि पर्छ, सधैंभरि हृदयविदारक समाचार पढिरहनु, सुनिरहनु र हेरिरहनु। २१औं शताब्दीका आधुनिक एवं सूचना–प्रविधिमैत्री हामी अझै पनि यस्तै नेपाललाई टुलुटुलु हेरेर बसिराख्न सक्छौं ? हाम्रै कारणले हो बालेन र हर्कहरू आउनुपरेको भनेर दलीय नेताहरूले कहिले बुझ्ने ? 

यो देशमा नागरिकले के चाहँदो रहेछ भनेर अहिले नबुझेर कहिले बुझ्ने ? खाली खोक्रो र खिया परेको आदर्श देखाएर नागरिकबाट शंकाको सुविधा लिएर नागरिककै अधिकारमाथि खेलबाड आखिर कहिलेसम्म गरिरहने ? आखिर त्यसैको परिणाम होइन र नागरिकको बालेन र हर्कप्रतिको हुटहुटी ? त्यही भएर अब यो संघीय चुनावमा युवापुस्ता आउनु जरुरी छ। पुराना दलका मक्काएका आदर्श र झुटो राजनीतिलाई गतिलो ठेगान लाउनु युवाको दायित्व बनेको छ। यो देशमा मानवताको राजनीति गर्न युवा पुस्ता आउनै पर्ने देखिएको छ।

रोइरहेको मानवता

वर्षौं भयो सडकमा मानवता रोइरहेको। यसको एउटै कारण हो, अहिलेसम्मको राजनीतिक नेतृत्वको निर्बलता। जसले कहिल्यै गर्न सकेन गरिबको स्वास्थ्य, शिक्षा, गाँस, बास र कपासको ग्यारेन्टी। न गर्न सक्यो गाउँगाउँसम्म व्यवस्थित बाटोघाटो, पुल, बिजुली र बत्तीको विकास। विश्व बैंकको सूचीअनुसार होस् या डब्ल्यूएचओको रिपोर्ट होस्, नेपालको अवस्था अझै पनि त्यति नै दर्दनाक छ। त्यस्तो दिन नआओस् भनेर नागरिकले हरेक राजनीतिक आन्दोलनमा साथ दिए, पटकपटक चुनावमा जिताए। राजतन्त्र फ्याँके र आफ्नो ज्यानको बलिदानी दिए अनि नागरिकको संविधान ल्याए।

नेतृत्व वर्गमा मानवीयता जबसम्म पार्टीको प्रमुख एजेन्डा बन्दैन, तबसम्म नागरिकका लागि गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा राजनीतिको लक्ष्य हुँदैन।

तर, नेताहरूले आफ्नो भिजन, नेतृत्व, कार्यकुशलता, लगाव र मानवीयताप्रतिको समर्पण कहिल्यै देखाउन सकेनन्। हुँदाहुँदा देशलाई भाग बन्डामा बाँडे गणतन्त्रको नाममा। अमेरिकाका ५० वटा राज्यमध्ये एउटा राज्यभन्दा पनि सानो हाम्रो देश नेपाललाई विभाजन गरेर ७ वटा प्रदेश बनाए। ७ प्रदेश सभामा सभासद्को संख्या ५ सय ५० बनाए। नागरिकको करबाट नेतालाई तलब र भत्ता बाँडे जुन पैसाले कैयौं गरिबको पेट भरिन्थ्यो। अनि छेकिन्थ्यो, लाज। नेताहरूले बेसरम मतदातालाई विश्वस्त पार्न खोजिरहे। अनि देखाइरहे, देशभक्ति। त्यसैमा राजनीति गरिरहे। हामीले कहिल्यै विरोध जनाएनौं कि सुदूरपश्चिम सरकारले मात्र झन्डै ४ करोड २० लाख खर्च गर्छ हरेक महिना तलबभत्तामा।

अब अनुमान लगाउन सकिन्छ कि कति पैसा हरेकलाई तलब र भत्ता दिँदा सकिएको होला ? अनि नेताहरू भने संसद्मा भएका सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, कुर्सी फुटाउने, भागबन्डाका लागि हानथाप गर्ने ? गुट र उपगुट बनाउने, आरोप र प्रत्यारोप गर्ने अनि नागरिक भने चुप लागेर टुलुटुलु हेरिरहने ? अब समयले कोल्टे फेरेको छ। पुरानालाई फ्याँकेर नयाँलाई देश बनाउने जिम्मा दिने बेला भएको छ। अहिलेसम्म जति परिवर्तन भए ती फगत केवल नाममा वा कागजी टुक्रामा भए। अब यो देशमा परिवर्तन व्यवहारमै देखिन जरुरी छ। त्यसको बागडोर तपाईं हामी युवाले सम्हाल्नु पर्नेछ। अबको नयाँ पिँढीले।

आफूलाई महानायक ठान्ने तर काम गर्न नसक्ने पात्रहरूको हातबाट ग्रिक पौराणिक पात्र प्रोमिथसले ईश्वरको हातबाट आगो चोरेजस्तो गरी नेतृत्व लिनु पर्नेछ। यो देशलाई उज्यालोतिर लानुपर्नेछ। अब देश चलाउने युवाले नै हो। युवा पिँढीले कसरी देश हाँक्न सक्छन् वा तर्क गर्न सक्छन् भन्ने प्रमाण न्युजिल्यान्डकी ४० बर्से प्रधानमन्त्री जेसिन्डा आर्डर्नले देखाएकी छन्। शक्तिशाली मुलुकमा युवा नेतृत्वप्रतिको सम्मान र साख त्यस्तो छ भने हामीले पनि त्यहाँबाट पाठ सिक्नैपर्छ र अबको बाटो भनेको युवा नेतृत्वको हो भनेर बुझ्ने पर्छ।

अन्त्यमा,

अबको बाटो भनेको हामी चाहन्छौं, युवा नेतृत्वमा यो देश चलोस् र यो देशमा कहिल्यै यस्तो अवस्था नआओस् कि डा. गोविन्द केसीले पटकपटक र महिनौंसम्म ज्यानको बाजी लाएर सत्याग्रहमा बस्नु नपरोस्। निर्मला पन्तहरू बलात्कृत हुनु नपरोस्। नवराज विकहरू जातको आधारमा कुटिनु र मारिनु नपरोस्। सुत्केरी महिलाले उपचार नपाएर बाटैमा मर्नु पर्ने दिन नआओस्। सिटामोल खान नपाएर कसैले ज्यान गुमाउनु नपरोस्। नागरिकका आधारभूत आवश्यकताको परिपूर्ति होस्। शिक्षा, स्वास्थ्य, बाटोघाटो र रोजगारीको ग्यारेन्टी होस्।

हरेक गाउँमा बन्ने अस्पतालसँगै जोडिएर आएका हुन्छन्, बाटो घाटो, बिजुली–बत्ती, पानी, शिक्षा, सहरीकरण र विकेन्द्रीकरण। तीसँगै जोडिन्छन्, अन्धविश्वासी परम्पराविरुद्धको चेतना, महिला तथा प्रजनन स्वास्थ्यसम्बन्धीका ज्ञान, जातीय हिंसाविरुद्धका आवाज आदि। त्यही भएर अबको राजनीति मानवीयताको राजनीति होस्। नेपाल सम्पूर्ण नेपाली बस्नलायक सुन्दर देश बनोस्। अबको समाज अध्ययन र अनुसन्धानको समाज बनोस्। अबको नेतृत्वले देश विदेशमा रहेका बौद्धिक व्यक्तित्वसँग देश विकासमा सहकार्य गर्न सकोस्।

अबको विकल्प भनेको युवा पुस्ताको नेतृत्व नै हो। हिजो जेल परेका भरमावा कसैले पैसाको खोलो बगाएका भरमा वा धाकधम्की र रवाफ देखाएका भरमा चुनाव जित्ने अवस्था हुने छैन। कसैले पुरानै तरिकामा कोसिस गर्ने सोच बनाएका छन् भने नागरिकले धुलो चटाउनेछन् अबको चुनावमा। अब यो सम्पूर्ण जिम्मेवारी युवाको काँधमा आएको छ, असल र उज्यालोको खोजी गर्ने, सही नेतृत्व समात्ने र भत्किएको, बिग्रेको राजनीतिलाई सम्हाल्ने। त्यसपछि हेरौं, युवा पुस्ताले र युवा नेतृत्वले सम्हालेको नेपालले अबको १० वर्षमा कति छलाङ मार्नेछ !
– Published in Annapurna Post, National daily newspaper.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s



%d bloggers like this: